दफा ३
विश्वविद्यालयको स्थापना
(१) कला, विज्ञान, व्यवस्थापन र प्राविधिक विषयको उच्च तहका शिक्षण संस्थाहरूको सञ्चालनको लागि काठमाडौं विश्वविद्यालयको स्थापना हुनेछ ।
(२) विश्वविद्यालय अविच्छिन्न उत्तराधिकारवाला एक स्वशासित र संगठित संस्था हुनेछ ।
(३) विश्वविद्यालयको आफ्नो एउटा छुट्टै छाप हुनेछ ।
(४) विश्वविद्यालयले व्यक्ति सरह चल अचल सम्पत्ति प्राप्त गर्न, उपभोग गर्न, बेचविखन गर्न, धितो बन्धक राख्न वा अन्य किसिमले बन्दोवस्त गर्न सक्नेछ ।
(५) विश्वविद्यालयले व्यक्ति सरह नालिस उजुर गर्न र विश्वविद्यालय उपर पनि नालिस उजुर लाग्न सक्नेछ ।
(६) विश्वविद्यालयको केन्द्रीय कार्यालय धुलिखेलमा रहनेछ ।